NRN
आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीतिबारे छलफल गर्ने गरी राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाएको छ। 

व्यवसायी र आर्थिक क्षेत्रले अहिलेको सुस्त आर्थिक अवस्थालाई ख्याल गर्दै खुकुलो मौद्रिक नीति ल्याउन माग गर्दै आएता पनि सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

आइतबार सञ्चालक समिति बैठकले मौद्रिक नीति सञ्चालक समितिले आवश्यक थपघट गरेपछि वा पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले त्यसलाई सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ।  

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update