पार्टीमा सभापति नै संस्था नभएकोनेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्।
सभापति नै संस्था हो भन्ने हिसाबले केही केन्द्रीय सदस्यले धारणा राखेको उल्लेख गर्दै त्यो कुरा आफू मान्न तयार नरहेको केसीले बताए।
केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले भने, 'सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ। संस्था भनेको विधि र पद्धतिलाई केन्द्रित गराएर एउटा समूहको संगठित आवाज हो। सभापतिलाई संस्था मान्ने सोच हामीले राख्न हुन्न। संस्थाको प्रमुख सभापति हो। विधि र नियम भए सभापति बलियो हुन्छ। सहमति भनेको आत्मसमर्पण होइन।’
केसीले पार्टिभित्र पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्ने ,चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने केसीले बताए।
उनले भने, 'भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ। नत्र हामी अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुन्छौं।’ गठबन्धनको वैशाखी चढेर चुनाव जान नहुने आफूले पहिले बताएको उनले उल्लेख गरे।
स्वर्गीय सूर्यप्रसाद उपाध्यायलाई पार्टीको संस्थापक नेतामा पुनर्स्थापित गर्न प्रस्ताव राखे। इतिहासलाई मेट्न नमिल्ने भन्दै उनले यो वर्ष क्यालेण्डर बनाएरै कांग्रेस स्थापनाको हिरक जयन्ती मनाउन आग्रह गरे। केसीले यही हीरक जयन्तीबाटै सूर्यप्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने पनि केसीले बताए।