नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले एमाले पार्टी कार्यालय च्यासलमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
अध्यक्ष ओलीको सचिवालयले उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध र नेपाललाई चीनले दिने सहयोगका बारेमा कुराकानी भएको जनाएको छ।
गत आइतबार तीन दिने भ्रमणमा नेपाल आईपुगेका चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको माओवादी टोलीसँग भेट गरेका थिए भने इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल कुराकानी गरेका थिए। सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए ।
बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको उक्त टोली आज स्वदेश फर्किदै छ ।