- राजन घिमिरे
चलचित्र बगानलाई चल्ने चित्र अर्थात चलचित्रको रूपमा मात्र हेरिनु,बुझिनु र सोचिनु यो चलचित्रले उठाउंन खोजेको मर्म माथिको प्रहार हुन सक्छ ।
त्यस कारण चलचित्र बगान नेपाली समाजको लागि उच्चतम प्रस्तुति, उठान गर्नै पर्ने सशक्त बिषय र मन छुने उपस्थिति हो भन्दा कतै धक मानिरहनु पर्ने अबस्था छैन । यो कुरा चलचित्र बगान हेरेपछी सबैले जहाँ जसरी पनि छाती ठोकेर भन्न सक्छ ।
तपाईहरूले चलचित्र बगान हेर्नु भयो ? हेरिसक्नु हुनेहरूलाई त यो पंक्तिकारको कुराले चित्त बुझ्यो र मन छोयो होला तर, नहेर्नु भएकाहरूले त यसले ‘गफै’ दियो भन्ने आरोप पनि लगाउनु भयो होला । यो सिनेमाको बारेमा नकारात्मक सोच्नु हुने र मेरो कुरामाथि बिश्वास नगर्नु हुनेहरूलाई एकपटक चलचित्र बगान हेरिदिनु हुन आग्रह र बिन्ती गर्न कुनै कन्चुस गर्दिन ।
नेपाली चलचित्र यस्तो बन्दैन ,उस्तो बन्दैन , के हेर्नु भनेर कोठे र होटेले गफ गरेर नथाक्ने हामीले त्यो गफ गर्ने समय नेपाली चलचित्र हेरेर बिताए के बिग्रन्थ्यो ? कुनै जमानामा कुनै चलचित्र हेरेको आँखाले आज पनि त्यही सोच र धारणालाई समाएर नेपाली चलचित्रको मूल्यांकन गर्न मिल्छ ?
प्रबिधिले आजको बिकास भोली पुरानो हुने समय आइसक्यो तर नेपाली सिनेमा भनेपछी नाक खुम्चाउंनेहरूको सोच र नेपाली चलचित्रप्रतिको धारणा भने पुरानै छ । हलमा नटेकेको र नेपाली चलचित्र नहेरेको बर्षौ भैसकेको छ तर, त्यही समूह नेपाली सिनेमाप्रति नकारात्मक हल्ला फैलाउँदै हिड्छ । कुरा बुझिसक्नु छैन ।
एकल महिलको संघर्ष, दर्दनाक कथा र उपस्थिति मात्र छैन चलचित्र बगानमा । एकल महिलाले समाजका कारण मात्र होइन कि परिबारबाटै पाउने पिडा, ब्यथा र पिर मर्काका पाटाहरू घाम जस्तै छर्लगं पारिएको छ बगानमा । चलचित्रले परिबारको कथा मात्र उठाएको छैन । आफ्नो सन्तानको खुशी र प्रगतिका लागि आमा बनेकी एकल महिलाले तिलान्जली दिएको आफ्नो खुशी र हाँसोको पक्ष यो चलचित्रको मन छुने अर्को सशक्त प्रस्तुति हो ।
आफ्नी एकल महिला आमाको लागि एउटी छोरीले निभाएको भूमिका अनि आमाको जिबनमा खुशी ल्याउन छोरीले परिबारसँग गरेको बिद्रोह चलचित्र बगानलाई धेरै बर्षसम्म सम्झाईरहने पक्ष हो । अभिनयमा त सरोज खनालको खोट लगाउनु पर्ने ठाउँ कहिले नै थियो र अब हुन्छ ।
छन् अब त चलचित्र बगान मार्फत उनले निर्देशन बिधाप्रति पनि बाज्जी मारेका छन् भन्दा अत्युक्ति नहोला । दर्जनौ चलचित्रको निर्देशन गरेर आफूलाई बरिष्ठ निर्देशक मानेर नाक फुलाउने केही निर्देशकहरूलाई सरोज खनालले एउटै चलचित्र बगानबाट धेरै पछाडि पारेका छन ।
सुन्दरी नायिकाको उपाधी पाएका अभिनेत्री करिश्मा मानन्धर अभिनय पनि सुन्दर र उच्चकोटीको गर्छिन भन्ने कुरा फेरि एकपटक बगानबाट प्रमाणित् भएको छ । भूमिका अनुसार उनले निभाएको सरल र मन छुने अभिनयको साँच्चै खुलेर तारिफ गर्न हिच्किचाउनु पर्दैन ।
चलचित्रमा देखा पर्ने दृश्यको भाव अनुसारका सम्बादहरूले जो कोहीको आँखा रसाई हाल्छ । यस्ता भाबुक र मन छुने दृश्यहरू चलचित्रमा धेरै छन् ।
नीर शाह , मिथिला शर्मा , बशुन्धरा भूषाल र आकाश श्रेष्ठको साथमा नब अभिनेत्री प्रमिला कार्कीको उपस्थिति चलचित्रको अर्को बलियो पक्ष हो । पहिलो चलचित्रमा पनि प्रमिलाले गरेको काम कुनै पुरानो अभिनेत्रीक़ो भन्दा कम छैन । उनको दमदार काम साँच्चै प्रशंसा गर्न योग्य छ ।
समग्रमा एउटा वाह गर्न लायकको चलचित्र पस्किएर यो चलचित्रको समूहले नेपाली सिनेमा बृत्तलाई राम्रो गुन लगाएका छन् । राम्रो चलचित्र कस्तो हुनु पर्छ ? मन छुने चलचित्र कस्तो हुनु पर्छ ? समाजमा तरंग ल्याउंन सक्ने चलचित्र कस्तो हुनु पर्छ ? भन्ने जस्ता पक्षहरुको सबै मापदण्ड पुरा गर्दै चलचित्र बगानले उच्चकोटीको चलचित्रको रूपमा आफ्नो उपस्थितिलाई गौरवपूर्ण बनाएको छ ।