NRN
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । कम्बोडियामा हालै सम्पन्न संसदीय निर्वाचनको पर्यवेक्षणमा सहभागी भएर ओली एक सातापछि स्वदेश फर्किएका हुन् । ओलीसँगै उपमहासचिव विष्णु रिमाल, श्रीमती राधिका शाक्य र स्वकीयसचिव राजेश बज्राचार्य पनि फर्किएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल, संसदीय दलका कार्यवाहक नेता सुवास नेम्बाङ, महासचिव शंकर पोखरेललगायतका नेताहरूले ओलीलाई स्वागत गरे । 

ओलीले कम्बोडियामा शुक्रबार सम्पन्न निर्वाचनको सिलसिलामा विभिन्न मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गरेका थिए । 

अध्यक्ष ओली कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री हुन सेन, नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलक, श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रिपाला सिरेसेना, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीलगायतसँग भेटवार्ता गरी दुई देशबीचको आपसी हितमा केन्द्रित रहेर कुराकानी गरेका थिए ।

२०७६ मा प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update