NRN
गृहमन्त्री श्रेष्ठ : “ अपराधमा संलग्न ठुला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ”

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका हुन् । 

“ठुला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ, अनुसन्धानमा बिराम लाग्यो नठान्नु होला। अनुसन्धान जारी छ।”, उनले भने।

अनुसन्धानको प्रक्रिया अगाडी बढाउँदा जरैसम्म पुग्ने प्रहरी प्रशासनलाई निर्देशन दिएको र तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनले दाबी गरे। विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिएको कुरालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको भन्दै विमानस्थलको व्यवस्थापनका लागि पनि काम सुरु भइरहेको गृहमन्त्री बताए । 

उनले भने, “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”। 

‘‘हामीले यसलाई निकै गम्भीर र संवेदनशील रूपमा लिएका छौँ। प्रधानमन्त्रीकै उपस्थितिमा हामीले एयरपोर्टको अवलोकन गरेर नयाँ ढङ्गले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौँ,’’ गृहमन्त्री श्रेष्ठले भने,‘‘अहिलेसम्म आगमन कक्षमा कुनै पनि लगेज स्क्रिनिङ अथवा कार्गोको सामान स्क्रिनिङमा होस्, प्रहरीको उपस्थित नै नहुने व्यवस्था छ। यसलाई परिवर्तन गरेर प्रहरीलाई पनि त्यहाँ उपस्थित गराउने प्रयत्न भइरहेको छ।’’ 

सरकारको कामले अहिले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको उनले बताए तर अहिले भएका सबै काम पर्याप्त नभएको उनको भनाइ छ।

आमजनताको जीवन फेर्ने गरेर शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटोघाटो, बिजुली, खानेपानीलगायतका आवश्यकता पुरा गरी मुलुकलाई समृद्धिको दिशा तिर अघि बढाउन वर्तमान सरकारले काम गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update