NRN
ग्लोबल आईएमई र बीओकेएकीकृत कारोबार सोमबारबाट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्तरूपमा मर्जर सन्देशको देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् ।

यी दुवै बैंकले आपूmहरू मर्जरमा गएको सन्देश दिन शनिबार यस्तो कार्यक्रम गरेका हुन् । ग्लोबल र बीओके बैंक मर्जरका अवसरमा दुई बैंकले संयुक्तरूपमा काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख सहरमा प्रभातफेरि गरेको थियो ।  मर्ज भएर नयाँस्वरूपमा सञ्चालनमा आउने ग्लोबल र बीओकेले आगामी सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दै छन् ।

प्रभात फेरि कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत दुई बैंकका एक हजारभन्दा बढी कर्मचारीको उपस्थिति थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिंड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिर पनि मुख्य–मुख्य सहरमा परिक्रमा गरेका थिए ।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब र कुल कर्जा ३७९ अर्बभन्दा बढी भएको छ । मर्जरपछि नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले देशको सबैभन्दा ठूलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएको ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन् । 

दुई बैंकको मर्जरपछि कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ बिस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update