NRN
नाइजरमा सैन्य ‘कू’, राष्ट्रपति बाजुम सेनाको नियन्त्रणमा

अफ्रिकी मुलुक नाइजरमा सेनाले ‘कु’ गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजुमको सरकारलाई बर्खास्त गरिएको बताएको छ।

राष्ट्रपति बाजुमलाई बुधबार बिहानैदेखि राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही घन्टापछि कर्नेल अमाडोउ अब्ड्रामानेले बुधबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै देशको शासन सत्ता सेनाले लिएको घोषणा गरेकाे र नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेको बाजोउमको शासन अन्त्य गर्ने निर्णय गरेको पनि बताए।  

नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द गरेको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको पनि कर्नेलले टेलिभिजनमा बताएका छन्।

सैनिकहरूले कुनै पनि प्रकारको विदेशी हस्तक्षेप स्वीकार्य नहुने र नियन्त्रणमा लिइएका बाजुमको रेखदेख आफूहरूले गर्ने बताएका छन्।

भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य कू भइसकेको छ।

मुस्लिम अतिवादी समूहहरूको दबदबा रहेको अफ्रिकाको सहेल क्षेत्रमा पर्ने नाइजरमा बाजोउम सन् २०२१ मा राष्ट्रपति निर्वाचित भएका थिए। 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई टेलिफोन गरि वाशिंगटनको ‘अटल समर्थन’ व्यक्त गरेका छन् ।संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त क्षेत्रमा शान्ति स्थापना गर्न नाइजरको सेनालाई ठूलो सहयोग गरेका थिए।

यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आफूले राष्ट्रपतिसँग कुरा गर्दै राष्ट्रसंघको पूर्ण सहयोगको प्रस्ताव गरेको बताएका छन् ।

सोही क्षेत्रमा पर्ने माली र बुर्किनाफासोमा यसअघि नै सैनिक कू भइसकेका छन्। नाइजरमा पनि सेनाले सत्ता हत्याएपछि सहेल क्षेत्रमा मुस्लिम अतिवादी समूहहरूविरूद्धको कारबाही कमजोर हुने देखिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update