NRN
इटालीबाट स्वदेश फर्किए 'प्रचण्ड'

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटालीबाट स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन गएका प्रधानमन्त्री 'प्रचण्ड' सात दिनपछि शुक्रवार (आज)  बिहान १० बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री 'प्रचण्ड' को भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डावेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतलगायतको सहभागिता रहेको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।

साेहि भ्रमण क्रममा प्रधानमन्त्री 'प्रचण्ड' र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू बिचमा भेटवार्तासमेत भएको थियो ।

प्रधानमन्त्रीलाई स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत पुगेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update