NRN
हिक्मतकुमार कार्कीले भने– ‘मुख्यमन्त्री मात्रै ठूूलो कुरा होइन, कुरा मिल्छ भने जुनसुकै दललाई मुख्यमन्त्री दिन तयार छुु’

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसलाई मुख्यमन्त्री स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्दै छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका नेता समेत रहेका कामचलाउ मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

अब एमाले र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना कति कति देखिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले संसदीय दलका नेता कार्कीले भने , ‘त्यसमा हामी ओपन नै छौँ । मेरो मान्यता के छ भने अहिलेका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यदी मुलुकको डेमोक्रेसिलाई संस्थागत गर्ने कुरा, संविधानलाई संस्थागत गर्ने कुरा, कानुनी राज्यलाई स्थापित गर्ने कुरा हामीबीचमा मिल्छ भने अगाडि बढ्न तयारी छौँ । मुख्यमन्त्री मात्रै ठूूलो कुरा होइन । कुरा मिल्छ भने जुनसुकै दललाई मुख्यमन्त्री दिन सकिन्छ । जब आफूसँग बहुुमत भएन भने जुनसुकै दललाई मुख्यमन्त्री दिएर अघि बढ्न एमाले बाधक बन्दैन । यदी कांग्रेस स्पष्ट भयो भने त्यसमा कुनै बाधक बन्दैनौँ ।’

आगामी १७ गतेभित्र बहुमतसहित सरकार गठनका लागि सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चको आदेश अनुसार साउन १७ गतेभित्र बहुुमत पुर्याएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको बाटो खुला भएको छ । यदी सो समयभित्र कुनै पनि सरकार गठन हुन नसकेमा पुन प्रदेश प्रमुखले प्रदेश सभाको ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

कोशीमा नयाँ सरकार गठनका लागि पहल शुुरु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update