NRN
शंकर पोखरेल भन्छन्, रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निस्शुल्क 'ब्लु बस' चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका हुन्।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि नि:शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा महासचिव पोखरेलले ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो, यस्तो कुरामा गम्भीर बन्नुपर्ने ।’  उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ ? भन्ने प्रश्न जागृत भएको छ,’ ।

'ब्लु बस' निःशुल्क सञ्चालनबारे सामाजिक सञ्जालमा सर्वसाधारणले समेत नि:शुल्क बस सञ्चालनको स्रोत के हो भनेर प्रश्न गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update