NRN
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले करीब १०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका हुन्। 

बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे।

उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए । उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने जिकिर गरे । सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरू बाहिर आइरहेको श्रेष्ठले बताए । उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ बस्ने गरि स्थगित भएको हाे ।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर भित्रिएको करीब एक क्विन्टल सुन राजस्व विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update