NRN
‘यो तीजमा नजाने माइत’ भन्दै मञ्जु ( तस्बिरहरू सहित )

- राजन घिमिरे

गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ ।

गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ । गायिका थापाले तेस्रो पटकसम्म रेकर्ड गरेर बल्ल गीत फाइनल गरेको बताउनु भएको छ । टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो ।

यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै पटकमा गीत कस्तो छ भन्ने पनि नसोधी फाइनल गरेको रेजिनाले सुनाउनुभयो । टिम राम्रो भएका कारण चलचित्रकै गीत गरेको जस्तो आफूलाई अनुभव भएको उहाँको भनाई थियो ।

आफूले एउटा तीजमा एउटामात्रै गीत गर्ने गरेको बताउँदै यो वर्ष पनि भिन्न गीत रोजेको शम्भुजितले बताउनुभयो । उहाँले नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन नहुने भन्दै अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको सुनाउनुभयो । सो अवसरमा ‘आँखामा राखे पनि नबिझाउने’ भन्दै उहाँले कलाकार निर्मल शर्माको पनि नाम लिनुभएको थियो ।

यस्तै शर्मिलाले आफूलाई नाच्न अल्छि लाग्ने भए पनि गम्भीरले नचाएको बताउँदै गम्भीरमा ढुंगालाई समेत नचाउने खुबी भएको भन्दै प्रशंसा गर्नुभयो । मञ्जु थापा र कल्पना थापाले निर्माण गरेको भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

प्रकास खरेलको मिक्सिङ, ए बि मुस्कान रेकर्डिङ, सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update