- राजन घिमिरे
पछिल्लो समय प्रवासमा नेपाली सिनेमामा उपस्थिति जनाउने क्रम बढ्न थालेको छ । विदेशमा नेपाली सिनेमाको बजार बढ्ने क्रममा प्रवासबाट नेपाली सिनेमामा लगानी बढ्नु अवश्य पनि राम्रो कुरा हो ।
यसैबीच अष्ट्रेलियाको सिड्नीमा लामो समयदेखि व्यापार व्यवसायमा आबद्ता जनाउँदै आएका सनराइज ग्रुप अफ कम्पनी सिड्नी रगडेलका सन्चालक सुरज ल्वानगन ( सरकार ) र जय हो रगडेलका सन्चालक राज के अधिकारीको लगानीमा चलचित्र जय हो बनेको छ । सुरज र राजले लामो समयदेखी सिड्नीमा हुने नेपाली चलचित्रको प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो सहभागिता र उपस्थिती जनाउँदै आइरहेका छन् ।
विदेशमा रहेर पनि नेपाली चलचित्र अनि सांस्कृतिक कार्यक्रमहरुमा साथ र हात दिँदै आएका सुरज र राजले निर्माण गरेको चलचित्र जय हो भदौ आठ गतेदेखि विश्वव्यापी प्रदर्शन हुँदै छ भने यो चलचित्रको अन्तराष्ट्रीय वितरणको अधिकार भने सिड्नी कै नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले लिएका छन् ।
नेपाली चलचित्र क्षेत्रका पुराना, वरिष्ठ र ख्यातीप्राप्त चलचित्रकर्मी शोभित बस्नेतको प्रस्तुती रहेको चलचित्र जय हो को निर्देशन भने टेक पौरखी राईले गरेका हुन् । चलचित्रमा माओत्से गुरूंग , अर्पण थापा ,सलोन बस्नेत , निशा अधिकारी र केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।