NRN
पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरण : ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन

वरिष्ठ वामपन्थी नेता तथा पूर्वमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको प्रष्ट पारेका छन् । ८५ वर्षीय वयोवृद्ध नेता जोशीले सोमबार प्रेस विज्ञप्तिमार्फत २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका हुन् ।

जोशीले त्यसअघि नै असोज ४ गते मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरेका छन् ।

उनले यसअघि अदालतको मानहानी हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रूपमा मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान सहमतिमात्र दिएको भन्दै निर्णय प्रक्रियामा सहभागिता नरहेको प्रष्ट पारेका छन् ।

जोशी तत्कालीन नेकपा संयुक्तबाट डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सोही आधारमा उनलाई समेत अख्तियारले पनि मुद्दा चलाएको थियो ।

उनले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने पनि बताएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update