NRN
काठमाडौँमा भारी वर्षाका कारण अनामनगर, सामाखुसी लगाएत विभिन्न क्षेत्रहरू डुबानमा

अविरल वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको छ । सोमबार रातीबाट परेको भारी वर्षाको कारण मंगलबार बिहान उक्त क्षेत्रहरू डुबानमा परेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।

बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरू पनि डुबानमा परेका छन् । यस्तै, बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको छ। बागमती नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ भने काठमाडौंको बल्खु तरकारी बजार पनि डुबानमा परेको छ ।

 विभिन्न क्षेत्रमा बाढीका कारण सवारी आवागमन अवरूद्ध भएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update