नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्षौंदेखि सुन तस्करी नरोकिएको बताएका छन्।
नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सुनको आयात खोल्नुपर्ने राय राखेका हुन् । सभापति देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताए।
मागअनुसार सुन आयात नहुँदा तस्करी हुने गरेको पनि उनको भनाइ छ।
‘वर्षौंदेखि सुन तस्करी हुने गरेको छ। रोक्न सकिएको छैन, ‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ, आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’, उनले भने ।
सुन तस्करी नियन्त्रण गर्न अर्थमन्त्री र उनी मातहतको भन्सार विभाग असफल भएको आरोप लाग्ने गरेको छ। अहिले अर्थमन्त्री नेपाली कांग्रेसकै सांसद प्रकाशशरण महत छन्।
हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।