राज्यमन्त्रीमा कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल नियुक्त भएका छन् । आज बिहान मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नियुक्त भए लगत्तै मण्डलले राज्यमन्त्रीकाे पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशसभा सभामुखविहीन भएकाले ज्येष्ठ सदस्य मण्डललाई मुख्यमन्त्रीले राज्यमन्त्री बनाएका हुन् ।
उपसभामुख एमालेकी सिर्जना दनुवारले राजीनामा दिँदा ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने थियो । त्यसैले मुख्यमन्त्री थापाले मण्डललाई सरकारमा सहभागी गराएका हुन् ।
१६ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भदौ १३ भित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ ।९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् । यस्तै, कांग्रेससँग २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।
मुख्यमन्त्री थापाले १ भदौका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका छन् ।
८० वर्षीय मण्डल राज्यमन्त्री बनेपछि उनीपछि ज्येष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । कार्कीपछि पनि तीन ६८ वर्षका एमालेकै प्रदेशसभा सदस्यहरू खड्गबहादुर बस्नेत, रामप्रसाद महतो र मालतीकुमारी लिम्बू जुन छन् ।