NRN
यूईएफए सुपर कपको उपाधि म्यानचेष्टर सिटीलाई

म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको च्याम्पियन बनेको हाे ।

गएराति ग्रीसको एथेन्समा सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकरमा गएको थियो । उक्त टाइब्रेकरमा सेभियालाई ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि हात पारेकाे हाे।

सेभियालाई खेलको २५ औँ मिनेटमा युसुफ एन न्यास्रीले गोल गर्दै अग्रता दिलाए। उनले मार्कोस एकुनाको पासलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरे । ६३ औँ मिनेटमा युवा विंगर कोल पाल्मेरले रोड्रीको पासमा हेडरमार्फतनै गोल गरेपछि सिटी खेलमा फर्कन सफल भयो ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमार्फत लिनु पर्‍यो । टाइब्रेकरमा सिटीका पेनाल्टी प्रहार गरेका सबै खेलाडी एर्लिङ ब्राउट हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गरे ।

सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गरे पनि नेमान्जा गुडेल्ज अन्तिम प्रहारमा चुकेपछि स्पेनिस क्लबको च्याम्पियन बन्ने सम्भावना समाप्त भयो ।

गत सिजन तीन उपाधि जितेको सिटी पहिलो सहभागितामै च्याम्पियन बन्यो । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update