उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टहरूको धम्कीबाट नडराउँने बताएका छन् । अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को आज उद्घाटन गर्दै उनले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका हुन् ।
उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने पनि बताए ।
श्रेष्ठ भन्छन्, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन ।'
उपप्रधानमन्त्री श्रेष्ठले नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा खुशी व्यक्त गरे ।
उनले राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको बताए ।