प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। संसदीय सुनुवाइ समितिले बिहान ११ बजेदेखि श्रेष्ठको सुनुवाइ सुरु गरेको हो।
उनीविरूद्ध तीनवटा उजुरी परेको थियो। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
२३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसको एक घन्टापछि श्रेष्ठको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।