एकै पटक आज(साेमबार) १० वटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् साेहि कुराकाे लागि उक्त बैठक बस्न लागिएकाे हाे । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, घोषणा हुन भने बाँकी छ । त्यसमा पनि एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।
प्रमुख प्रतिपक्ष एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी परेको छ भने सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा.आरजु राणा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रबाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।
नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दर्ता भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सत्तारुढ दलको तर्फबाट जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिएका छन् ।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।