NRN
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाली टोलीको विजयी सुरुआत

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा भएकाे खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको हाे । 

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो।

अइना हमिजाहले १४ रन र दुराइसिंहमले २८ रन मलेसियका लागि योगदान गरे। मलेसियाले १७ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट गुमाउदा खेल नेपालको पक्षमा गएको थियो। सो ओभरमा सीता रानामगरले मीरा स्माइललाई रनआउट गर्दा अर्को बलमा कविता जोशीले दुराइसिंहमलाई आउट गरेकी थिइन्। 

बलिङमा नेपालकी कविता जोशीले २ ओभरमा ५ रन खर्चिदा २ विकेट लिइन्। यस्तै कविता कुँवरले २ विकेट लिँदा १० रन दिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ८४ रन मात्र जोड्यो।

नेपालका लागि सीता राना मगरले ३८ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्। यस्तै अप्सरी बेगमले १७ रनको योगदान गरिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा मलेसियाकी अइना हमिजाहले २ विकेट लिइन्।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

जसमा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update