NRN
आजदेखि तातोपानी नाका खुल्ने

स्थानीय सर्वसाधारणले शुक्रबारबाट तातोपानी नाकामा आवतजावत गर्न पाउने भएका छन्। आठ वर्षदेखि आयात–निर्यात मात्रै हुँदै आएको नाका मानव आवतजावतका लागि समेत खुला हुन लागेको हो ।

गत मंगलबार चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए।

न्यौपानेले भने, ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ । ' नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन।

नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित नियमकाे पालना गर्नु पर्ने हुन्छ। सिडिओ न्यौपानेका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्, नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ । जसमा तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने पनि जानकारी दिए।

गत महिना सम्पन्न नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११औँ बैठकमा तातोपानी नाका मानवका लागि समेत खुला गर्ने दुई मुलुकबीच सहमति भएको थियो । बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update