NRN
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, मतगणना केहीबेरमा

नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ। साे मतदानमा ९ सय ६५ मत खसेको छ । अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका थिए । 

दिउँसो १ बजेसम्मका लागि तोकिएकाे मतदान मंगलबार बिहान पौने नौ बजेबाट सुरु भएर २ बजेसम्म लागेको निर्वाचन समितिले जानकारी दिएको छ भने निर्वाचन मण्डलले मतदान सकिएपछि मुचुल्का उठाएर मतगणना प्रक्रिया सुरु गर्ने जनाएको छ ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका र रिजाल प्युठानमा हुन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा उत्रेका थिए । 

लुम्बिनीका १२ मध्ये ८ जिल्लाका लागि सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार अब केहीबेरमा मतगणना सुरू हुनेछ भने मंगलबार रातिसम्म गणना सकेर परिणाम सार्वजनिक गर्ने तयारी छ।

सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

अधिकांश जिल्लामा भूगोलबाट चयन हुने सदस्यहरू निर्विरोध चयन भए पनि केही जिल्लाका लागि भने भूगोलतर्फको सदस्यका लागि पनि भएको निर्वाचन आयोगले जनाएको छ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update