NRN
आज बिहानदेखि हट्याे मलंगवामा लगाइएको कर्फ्यु

शनिबार साँझदेखि सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा भएको थियो। पुन: सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएपछि जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच तनाव बढ्न नदिन शनिबार साँझदेखि आज बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो।

कर्फ्यू हटेपनि प्रशासनले तीन दिनसम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ। कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो। 

शनिबार दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको थियो। 

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलंगवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको‍ छ। निषेधित क्षेत्र तोकिएको स्थानमा भेला र  सभा सम्मेलन गर्न पाइने छैन। 

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update