सरकारले संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।
बालुवाटारस्थिति निवासको शौचालयमा बेहोस भेटिएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । सोमबार राती १ः५० बजे अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
नेम्वाङको निधनपछि बुधबार शोक बिदा दिने तयारीसमेत गरिएको बुझिएको छ । नेम्वाङको निधनको खबरसँगै अहिले नेपाली राजनीति वृत्तसँगै सम्पूर्ण मुलुक नै स्तब्ध बनेको छ । उनको निधनप्रति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् आम नागरिकले दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।
नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ। उनको पार्थिव शरीर भोलि (बुधबार) सम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ।