केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । सीआईबीको भनाइ अनुसार ३२ जना पक्राउ परेकोमा १८ जना भने फरार छन्।
सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको सीआईबीका एक अधिकारीले जानकारी दिए ।
आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।
विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।