NRN
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा : सभापति र प्रधानमन्त्री खोजीको बहस आवश्यक छ

नागरिकमा वितृष्णा बढेको भन्दै समयको चेत बुझ्नेर हाँक्न सक्ने सभापति एवं प्रधानमन्त्री आवश्यक भएको नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। सामाजिक सञ्जालमा केन्द्रीय समिति बैठक बस्नुपूर्व लेख्दै शर्माले नवीन आशा र विश्वास दिलाउन सक्ने नेतृत्व स्थापित गर्नुपर्ने बताएका हुन् । 

उनी लेख्छन्, ‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ? भन्दा महत्त्वपूर्ण प्रश्न समाजमा असन्तुष्टि किन छ, हामी त्यसमा कति दोषी छौं, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ ? महासमितिमार्फत् यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि ’ शर्माले लेखेका छन्, ‘पार्टी पंक्तिमा ऊर्जा। नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास । ०८२ मा महाधिवेशन सुनिश्चितता। समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री ।’

कांग्रेस पार्टी र विचार समूहले यिनै विषयलाई अब बहसको विषय बनाएर निष्कर्ष खोज्नुपर्ने शर्मा बताउँछन्। ‘कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुछ। दलहरूमा फरक विचार र विचार समूह हुनु स्वाभाविक हो। कांग्रेसमा पनि छ/छन्। यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ,’ शर्माले लेखेका छन्, ‘तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृस्टी निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छुररहनेछु ।’

शेखर पक्षले आज २ बजे हुने छलफलमा सहभागी हुन निम्ता दिए पनि शर्माले नजाने संकेत गरेको एक नेता बताउँछन् । 

केन्द्रीय समितिको बैठक ४ असोजमा बस्दैछ तर बैठकपूर्व नै डा.शेखर कोइरालाले आफ्नो समूहको बैठक डाके पनि शर्माले यसमा सहभागिता नजनाउने संकेत गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update