NRN
संविधान दिवसको अवसर पारेर आजदेखि ‘द्रुत बस सेवा’ सुरु

संविधान दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सुरु भएको छ । पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

यातायात मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका कर्मचारीहरु बस चढेर यात्रा गरेका छन् ।

४५ मिनेटमै द्रुत बस सेवाले रत्नपार्कबाट सूर्यविनायक पुर्‍याउनेछ । द्रुत बसलाई जाम छल्न सजिलो हुने गरी माइतीघर, कोटेश्वर, जडिबुटीमा ननस्टप सञ्चालनमा ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु गरिएको हो। रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने छन् । 

बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । आज उद्घाटन भए पनि सर्वसाधारणले भने भोलिबाट सेवा लिन पाउने छन् ।

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update