नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ ।
यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो तर राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँनेछन् । सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको हो ।
राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ।’
यद्यपि राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुनको आयात कोटा बढाउने निर्णय गर्दै कार्यान्वयको लागि राष्ट्र बैंकलाई पत्रचार गरेको थियो ।
वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउनेमा २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।
कोभिड–१९ महामारी पछि बढेको आयात र रसिया(युक्रेन युद्धपछि बढेको उपभोग्य वस्तुको मूल्यले आयातमा परेको थप दबाबपछि बाह्य क्षेत्रमा समस्या देखिने अवस्था आउँदा सरकारले सुन आयातको दैनिक कोटा घटाएको थियो तर अब बाह्य क्षेत्र स्थिर बन्दै गएको र सकारलाई पनि आयात संकुचन हुँदा राजस्वमा दबाब बढ्दै गएपछि सरकारले सुन आयातको सीमा बढाउने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकका एक अधिकारीले बताउनुभयो । तस्करी नियन्त्रणसँगै सुनका गहना निर्माण कम्पनीहरुले बैंकबाट नै सुन बढी किन्न थालेका छन् ।
यसअघि उपभोत्ताको माग उच्च रहेपनि कम मात्रामा बैकबाट सुन खरिद हुन्थ्यो । सुन तस्करीमा सरकारले लिएको एक्शनपछि तत्काल डराएका तस्करले तस्करीबाट सुन ल्याउन छोडेपछि सुनको माग बैकहरुले धान्न सकेका थिएनन् ।