कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र तोकिएको समयभन्दा ढिला गरी सुरु भएको हो ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय कमिटी चयन गर्ने छ ।
एमाले केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, एमालेका पूर्व पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, चितवनका एमाले नेता कृष्णभक्त पोखरेल तथा एमालेका वर्तमान प्रदेश अध्यक्ष केशवप्रसाद पाण्डेले नेतृत्वका लागि दाबी गरिरहेका छन् ।
उपाध्यक्षको लागि एमाले मकवानपुरका नेता अनन्तप्रसाद पौडेल, चितवनका दावा लामा,दोलखाका ईश्वर चन्द्र पोखरेल,काभ्रेका कुमार खकुरेल लगायतको चर्चा छ ।
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।