बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना शिक्षक घाइते भएका छन्।
सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७:५० बजेतिर दुर्घटनामा परेको हो।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहाल अनुसार घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका वडा नं. १ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा रहेका छन् । यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि रहेकाे उनले जानकारी दिए ।
सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । दुर्घटनामा परेको भ्यानमा आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु सवार थिए।