NRN
भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बझाङ केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज बिहान भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औं बैठकलाई सम्बोधन गर्दै उनले भने,‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देश गर्दछौँ । हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौँ ।’

प्रधानमन्त्री दाहालले प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिबद्धता व्यक्त गरे। प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

यसअघि बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । बझाङ भूकम्पबाट १ जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन् । यस्तै कैयन भौतिक संरचनामा क्षति पुगेको छ । 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update