NRN
आन्दोलनलाई थप सशक्त बनाउन स्थानीय तहका कर्मचारीहरूले गरे अनिश्चित कालिन पेन डाउन

आजदेखि स्थानीय तहका कर्मचारीले अनिश्चित कालिन पेन डाउन गर्ने भएका छन् । आन्दोलनलाई थप सशक्त बनाउन उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्न लागेका हुन्।

राजधानीको माइतीघर मण्डलामा गत आइतबारदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन् । प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आएका छन्।

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्।

समितिका संयोजक दीपक गौतमले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दै,अनिश्चितकालका लागि पेन डाउन गर्ने निर्णय भएको जानकारी दिए।

आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा, विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् ।

उनीहरूको ऐनविहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनुपर्ने माग छ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update