NRN
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको संयन्त्रले इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन समन्वय गर्ने भएको छ। आज परराष्ट्र मन्त्रालयमा बसेको बैठकमा सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको हो।

इजरायल-हमास युद्धमा नेपाली नागरिकहरू पनि मारिएपछि परराष्ट्र मन्त्रालयले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरिएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्। परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।

बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update