आजेदेखि दसैँका लागि बसको अग्रिम टिकट बुकिङ खुलेको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यवसायीहरूबीचको सहमति अनुसार विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि बुकिङ खुला गरिएको हो ।
अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष केही ढिला भएको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ ।
गत वर्षहरुका तुलनामा नयाँ बसपार्कमा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ र पुरानै भाडादरमा टिकट बुकिङ खुला गरिएको छ ।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।