NRN
सरकारले भन्यो- मुख्य संकट टर्‍याे, सबै विद्यार्थी सुरक्षित स्थानमा पुगिसके

सरकारले नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सोमबार रातिसम्म ५० बढी विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको  जानकारी दिए ।

प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’

त्यस्तै मन्त्रालयले नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने तयारी गरेको छ । मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै मन्त्रालयले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरेको छ ।

इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।

गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।

सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update