१९औं एसियाली खेलकुद (एसियाड) चीनमा सम्पन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो ।
पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी थिइन् भने १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी हुन् ।
सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक प्राप्त गरेको हो । सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् । त्यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई कास्य पदक दिलाएको छ । नेपालले यसअघि १८औँं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको थियो ।
एसियाडमा नेपालले यसपटक २५३ खेलाडीले विभिन्न २९ खेलमा प्रतिस्पर्धा गरेका थिए । एसियाडमा अहिलेसम्म नेपालले ३ रजत र २३ कास्य पदक जितेको छ ।