NRN
नेपाली बलरको घातक प्रदर्शन, बहराइन ७७ रनमा नै अलआउट

दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ । टस जितेर मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले पहिले ब्याटिङ गरेको थियो तर दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ अलआउट भएकाे हाे ।

बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।

दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।

नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।

प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । एक खेलबाट दुई अंक जोड्दै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ । एक खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा हार भोगेका बहराइन तेस्रो र इरान चौथो स्थानमा आसिन छन् । 

नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ ।

 

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update