NRN
१२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई ओलम्पिक्समा समावेश

ओलम्पिक्समा १२८ वर्षपछि पहिलोपटक क्रिकेटलाई समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले लस एन्जलस २०२८ को ओलम्पिक्समा क्रिकेट समावेश हुने औपचारिक घोषणा गरेको हो ।

मुम्बईंमा सोमबार भएको १४१ औँ आईओसी सेसनमा आईओसीले क्रिकेटलाई पनि समावेश गरिने औपचारिक घोषणा गरेको हो । टी-२० फर्म्याटमा क्रिकेट खेलाइनेछ । दुवै पुरुष र महिला टोलीबीच प्रतिस्पर्धा गरिनेछ । सुरुवातमा आईसीसीले ६ महिला र ६ पुरुष टोलीबीच प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।

सन् १९०० को समावेश भएपश्चात् पहिलोपटक क्रिकेटलाई ओलम्पिक गेम्समा समावेश गरिएको हो । ओलम्पिक्समा क्रिकेट समावेश गर्न दुई वर्षको कडा मेहेनत र प्रस्तावमा नेतृत्वदायी भूमिका खेलेको आईसीसीले जनाएको छ । टेलिभिजन र डिजिटल प्लाटफर्ममा ओलम्पिक गेम्सको ३ बिलियनभन्दा बढी दर्शक हुने अनुमान गरिएको छ । सो दर्शकमा क्रिकेट थपिँदा थप ऊर्जा प्राप्त हुने विश्वास आईसीसीले जनाएको छ ।

यसले क्रिकेटको प्रसिद्धतालाई थप उचाइमा पुर्‍याउनेसमेत आईसीसीको विश्वास छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update