NRN
विश्वकप छनोट :  अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित

विश्वकप छनोटमा लिओनल मेसीको दुई गोलपछि अर्जेन्टिनाले पेरुलाई २-० ले पराजित गरेको छ । बुधबार बिहान अर्जेन्टिनालाई जिताउन मेसीले ३२ र ४२ औँ मिनेटमा गोल गरे । २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।

बुधबार बिहान भएको अर्को खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध भयो । उरुग्वेले ब्राजिललाई २-० ले हरायो । उरुग्वेका लागि डार्विन नुनेजले ४२औं र निकोलस डे ला क्रुजले र ७७औं मिनेटमा गोल गरे । जितपछि ४ खेलबाट उरुग्वेले ब्राजिल समान ७ अंक जोडेको छ र ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

उरुग्वे विरुद्धखेलमा पराजित ब्राजिलका लागि अर्को झड्का समेत लागेको छ । ब्राजिलका फरवार्ड नेमारले घुँडाको चोटका कारण पहिलो हाफमै मैदान छाडेका थिए ।

छनोटअन्तर्गत अन्य खेलम भेनेजुएलाले चिलीलाई ३-० र पाराग्वेले बोलिभियालाई १-० ले पराजित गर्दा इक्वडेर र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । ४ खेलबाट ७ अंक नै जोडेको भेनेजुएला चौथो स्थानमा उक्लेको छ ।

दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update