चीन भ्रमणमा रहेका बेला बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।
उनलाई शुक्रबार बिहान स्वास्थ्यमा सुधार भएसँगै आइसियूबाट जनरल वार्डमा सारिएको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । बुधबार राति हृदयघात भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएको थियो।
गौतमले भने, ‘छोटो भिडिओ कुराकानीको क्रममा उहाँ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनुभएको छ ।’
अस्पतालले श्रेष्ठलाई 'एक्युट मायोकार्डियल इन्फार्क्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा 'ओब्टस मार्जिनल शाखा'मा अवरोध देखिएको जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण 'स्टेनोसिस' देखिएको र त्यसलाई कम गर्न तुरुन्तै 'स्टेन्ट' राखिएको समेत राखिएको थियो।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो ।