इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ ।
प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी रु पाँच लाख ९८ हजारको चिनी र २८ बोरा अन्दाजी रु ४२ हजारको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका बताए । श्रेष्ठका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नपा – २ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो ।
सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो ।