NRN
इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई मृत्युदण्डको फैसला

इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला सुनाइएको छ । कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

कतारी सञ्चारमाध्यमकाअनुसार उनीहरूलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको र हालै अदालतले उनीहरूको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो ।

आठैजना भारतीय कतारको कन्सल्ट्री कम्पनी अलदहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरूको अधिग्रहण सम्बन्धमा परामर्श दिने गर्छ ।

उनीहरू भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरूलाई भेटेका थिए ।

यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरूको आपूर्ति सुरु गराउन पनि कतारले पहल गरिरहेको छ । यसैबीच, भारत सरकारले आफ्ना नागरिकको मृत्युदण्डको फैसलाबाट स्तब्ध भएको जनाएको छ ।

फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठ आएपछि सरकारले थप कद चाल्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्त्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update