NRN
झ्यालढोका बन्द गरेर आगो ताप्दा निसास्सिएर दुई जनाको मृत्यु

वीरगन्ज ।   जाडोबाट बच्न ढोका पुरै बन्द गरी आगो बालेर सुतेका दुईजनाको पर्सामा मृत्यु भएको छ । त्रिपती ट्रेडिङ्ग एण्ड सप्लायर्स ( कोइला डिपो ) को रेखदेख गर्ने दुवैको मृत्यु भएको हो । 

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा रहेको सो कोइला डिपोमा रेखदेख गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवाठेगर–७ बस्ने बर्ष २९ को पवित्र गिरी र सोही डिपोका म्यानेजर बर्ष ३० का मिथलेश यादवको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । 

बिहान ढिलोसम्म नउठेपछि ( आज ) बुधबार बिहान १० बजेपछि प्रहरीलाई खबर आयो । प्रहरी टोली त्यहाँ पुगी ढोका फोरेर हेर्दा दुवै मृत भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । घटनाको अनुसन्धान गर्दा त्रिपती ट्रोडिङ्ग एण्ड सप्लायर्स ( कोइला डिपो ) को एकतले पक्की भवनको आल्मुनियमको भ्यालढोका बन्द गरी उनीहरु पत्थर कोइलाको आगो तगारीमा बाली सुतेको भेटियो । अक्सिजनको कमीले नै निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले निश्कर्ष निकालेको उनको भनाइ छ । 

झ्याल ढोका बन्द गरी पत्थर कोइला बालेको कारण नै अक्सिजनको कमीले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको पर्सा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update