आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रनको योगफल तयार पारेको छ।
नेपालका लागि करण केसी एक्लैले तिन विकेट लिए। करणले आफ्नो स्पेनलमा ४३ रन दिएर ३ विकेट लिए।
सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए। किफायती बलिङ गरेका सोमपालले आफ्नो स्पेलमा मात्र १६ रन खर्चे। सन्दीपले ४ ओभरमा ३० रन दिए।
गुलसन झा र अविनास बोहोराले समान १ विकेट आफ्नो नाममा दर्ता गरे।
लेग स्पिनर सन्दीप लामिछानेले चौधौं ओभरमा लगातार २ विकेट लिर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए।
सन्दीपले चौधौं ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ रन बनाएका आयान खान सन्दीपको बलमा बोल्ड भए।
सोही ओभरको दोस्रो बलमा मेहन खान सन्दीपकै बलमा एलबीडब्लु धरापमा परे। करणले २० औं ओभरको तेस्रो बलमा करिमुल्लह लाई ५ रन बनाउदा सोमपाल कामीको हातबाट क्याच आउट गराए।
करणले १८ औं ओभरको तेस्रो बलमा नसिम खुसीलाई क्याच आउट गराए। १४ बलमा २ चौका र २ छक्का हानेका उनले २५ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट भए।
अविनासले १५ औँ ओभरको चौथो बलमा कप्तान जेसन मक्सुदलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। मक्सुदले २६ बलमा १ चौका र ३ छक्का मद्धतमा ३२ रन बनाएर आउट भए।
त्यसअघि छैटौँ ओभरको चौथो बलमा सोमपालले शोयब खानलाई शुन्य रनमा नै बोल्ड आउट गरे।
पाचौं ओभरको अन्तिम बलमा गुलसन झा ले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे। अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेकाे छ।