NRN
भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा.महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह हुन आग्रह गरेका छन् ।

भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले भने, ‘‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’’ हाम्रा आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘‘मैले धेरै भन्सार नाकाको भ्रमण गरेँ, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’’

राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नुहुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ भन्ने मन्त्री डा. महतको भनाइ छ ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको मन्त्री डा. महतले स्पष्ट पारे ।

वीरगन्ज भन्सारको उदाहरण दिँदै मन्त्री डा. महतले भने, ‘‘त्यहाँ ठुलो एक्सरे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइए राखिएको छ । त्यसको प्रयोग भयो भने हाम्रो के काम ? भन्ने कुरा कर्मचारीबाट सुनियो । अब त्यसरी हुँदैन । अहिलेको परिवेशमा यो मानसिकता परिवर्तन हुनुपर्छ ।’’

इमान्दार भएर कर्मचारीले काम गरे लक्ष्यमा पुगिने बताउँदै उनले भने, ‘‘लक्ष्यमा पुग्नै पर्ने भनेर हाम्रा आयातकर्ता र करदातालाई जथाभाबी दुःख दिएर काम गर्नुपर्छ भनिएको छैन ।’’  ‘‘कानुनतः काम गरियो भने पनि हामी लक्ष्यमा पुग्न सक्छौँ ।’’

मन्त्री डा. महतले साउनमा लक्ष्य ८० प्रतिशत पुग्यो भनिएको छ । गत वर्ष ६० प्रतिशत उठ्यो । हामीले अझ इमानदार भएर काम गरियो भने सय प्रतिशत नै लक्ष्यमा पुग्न सकिने बताए।

अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने मन्त्री डा. महतको भनाइ छ । लक्ष्यभन्दा बढी पनि हामीले भन्सार राजस्व उठाउन सक्छौँ, जति बढाउन सकियो, त्यत्ति नै राम्रो हुने मन्त्री डा. महतले बताए । उनले भने, ‘‘जिम्मेवारीमा सम्झौता नगरी यसका काममा व्यावसायिकता, सम्मान र समर्पित हुनुपर्छ । कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नुहुँदैन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update