NRN
महिला टी–२० सिरिज : जापानमाथि नेपालको शानदार जित

चार देशीय महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । हङकङमा आज भएको नेपालले जापानलाई ६७ रनले हराएको हो । ११४ रनको लक्ष्य पाएकाे जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् ।

यस्तै, कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् । 

बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन्।जापानका लागि मेगा ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । 

बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, सङ्गीता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन् । 

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । यसअघि नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । यस्तै, बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो।

महिला टि–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

आईसीसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन्।

नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ। 

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update