NRN
नक्कली शरणार्थी प्रकरणमा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा सुनुवाइ हुने भएको हाे । अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन।

जिल्ला अदालत काठमाडौंले अभियुक्तहरूलाई असार १ गते थुनामा पठाउने आदेश दिएको थियो। त्यस विरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका हुन्। 

नेकपा (एमाले) का सांसद समेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका निजी सहायक नरेन्द्र केसी, रामशरण केसी, पूर्व सांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पक्राउ परेका थिए।

यो प्रकरणका अभियुक्तहरू रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज राई लगायत १५ जनालाई प्रहरीले पक्राउ गर्न सकेकोे छैन।

शरणार्थी प्रकरणका प्रतिवादीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी अभियोग छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update